इटहरी | कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोशी प्रदेशको प्रमुख सहर इटहरीमा सञ्चालनमा रहेका सफारी सवारी साधन र चालकहरूको व्यापक अनुगमन गरेको छ। शुक्रबार इटहरीका पूर्व–पश्चिम तथा उत्तर–दक्षिणका चार वटै भेगमा सफारी चालकहरूको कागजात तथा सवारी व्यवस्थापनसम्बन्धी अवस्था निरीक्षण गरिएको हो।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले सफारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स), बिलबुक, सवारी दर्ता कागजात लगायत आवश्यक कागजपत्रहरूको जाँच गरेको थियो। अनुगमनका क्रममा नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन र कागजात नपुगेका चालकहरूलाई आवश्यक निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ।

यसैबीच, कोशी प्रदेश सरकारको पहलमा हालै सफारी चालकहरूका लागि लागू गरिएको १ मिनेटभन्दा बढीको भिडियो हेरेर त्यसपछि लिखित परीक्षा दिनुपर्ने व्यवस्था हटाइएको जानकारी दिइएको छ। उक्त व्यवस्थाका कारण चालकहरूलाई अनावश्यक झन्झट र समय खर्च हुने गुनासो आएपछि सो प्रक्रिया हटाइएको हो।

झन्झट र समय लाग्न,विषय हटेर जादा खुसि लागेको सवारि चालक असलमान तामाङले बताउनुभयो । यस निर्णयले सफारी चालकहरूलाई सहजता भएको यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख सतीश सत्यालले जानकारी दिनुभयो।

अनुगमनसँगै यातायात व्यवस्था कार्यालयले विभिन्न शीर्षकका प्लेकार्ड टाँसेर चालकहरूलाई सवारी नियम, ट्राफिक संकेत, सुरक्षित सवारी सञ्चालन र यात्रु सुरक्षासम्बन्धी जानकारी प्रदान गरेको थियो। सो कार्यक्रमलाई कोशी प्रदेश ट्राफिक कार्यालय इटहरीले सहजीकरण गरेको थियो।

कार्यक्रमका क्रममा प्रस्तुत तथ्यांकअनुसार हाल कोशी प्रदेशमा करिब १५ हजार सफारी सवारी साधन आवश्यक भए पनि २५ हजारभन्दा बढी सफारी दर्ता भई सञ्चालनमा रहेका छन्। आवश्यकता भन्दा बढी सवारी सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र प्रतिस्पर्धामा समस्या देखिन थालेको सरोकारवालाहरूले बताएका छन्।

प्रदेश सरकारले आगामी दिनमा पनि सफारी तथा अन्य सार्वजनिक सवारी साधनको नियमित अनुगमन, चालक सचेतना र व्यवस्थापन सुधारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यात्रुको सुरक्षा र सवारी अनुशासन कायम गर्न यस्ता अनुगमन कार्यक्रम प्रभावकारी हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

जथाभावी र ट्राफिक नियमको उल्लंघन गरेर कुदाइने सफारीका कारण सहरी क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गइरहेको छ । दैनिक हजारौँ यात्रु बोकेर सहरभित्र चल्ने साना विद्युतीय तीनचक्के सवारीसाधनलाई नियमन र सुरक्षा अनुशासनमा ल्याउन नसक्दा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा भएको छ ।IMG-20251226-WA0114