इटहरी । धनकुटामा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन बढेपछि धनकुटामा अलैचीको उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैचीँ खेती भएकोमा यस आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैचीँ उत्पादन भएको थियो। जसमा धनकुटामा गत आर्थिक वर्षमा ४० दशमलव ३ मेट्रिक टन अलैचीँ उत्पादन भएकोमा यस आर्थिक वर्षमा ४२ दशमलव ६४ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिनुभयो। धनकुटामा गत आर्थिक वर्षमा उत्पादकत्व प्रति हेक्टर शून्य दशमलव ३२ रहेकामा यस आर्थिक वर्षमा पनि प्रतिहेक्टर शून्य दशमलव ३२ रहेको ज्ञान केन्द्रले जनाएको छ । यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिक रुपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ। अलैँची खेती धनकुटाका ७ वटै स्थानीय तहमा आंशिक रुपमा हुने गरेको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट सात सय देखि दुई हजार एक सय मिटर उचाइ सम्म हुने गरेको छ ।


