इटहरी । इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले इ–रिक्सा ,ब्याट्री मेसिन वितरण समारोह तथा विभिन्न सीपमूलक तालिममा सहभागीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । जोखिममा परेका तथा संरक्षणमा रहेका युवतीहरूलाई जीवनोपयोगी सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित माइती नेपालले तालिमको आयोजना गरेको हो। समापन कार्यक्रममा ३ जनालाई इ–रिक्सा, २ जनालाई इ–रिक्साको ब्याट्री, ५ जनालाई सिलाई–कटाई मेसिन वितरण गरिएको थियो । उनिहरुसँगै ७ जना सिलाई–कटाई तालिम, ५ जनालाई ब्यूटी पार्लर तालिम तथा ६ जना कम्प्युटर तालिममा सहभागी लगायत विभिन्न तालिम लिएका ३१ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्धार गरी ल्याइएका चेलीबेटीहरूलाई विभिन्न समयानुकूल तथा बजारको माग अनुसार जीवन उपयोगी सीप प्रदान गर्दै आएको जानकारी दिनुभयो । यस्ता सीपहरूले उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुगेको उहाँको भनाइ थियो। तालिमबाट रिक्सा पाउँदा निकै खुसि लागिको प्रशिक्षार्थीको प्रतिक्रिया थियो । कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख सङ्गिता कुमारी चौधरीले महिलाको उद्धार, संरक्षण र सशक्तीकरणमा माइती नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू समाज परिवर्तनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । २०५० सालमा स्थापना भएको माइती नेपालले हालसम्म ७ सयभन्दा बढी महिलाहरूलाई तालिम, सेवा तथा उद्धारको कार्य गरिसकेको छ । संस्थाले वार्षिक रूपमा दुई सत्रमा समय र बजारको आवश्यकतालाई मध्यनजर गरी विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।