इटहरी । हरिनगर स्पोट्र्स क्लबको आयोजनामा पहिलो टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ सुनसरीको समन्वयमा हरिनगर खेलमैदानमा १२ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मोहम्मद गजाली अन्सारीले जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गर्नुभएको हो। उद्घाटन खेल रोलेक्स क्रिकेट क्लब भोक्रा नरसिंह र जुद्धगञ्ज क्रिकेट क्लब जुद्धगञ्जबीच सम्पन्न भएको थियो । उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष गफार अन्सारीले खेलकुद क्षेत्रको विकासका लागि आफू सधैँ तत्पर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवालाई खेलकुद तर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यसैगरी हरिनगर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रवीण प्रसाद गुप्ताले आफू निर्वाचित भएर आएदेखि नै हरिनगरका युवा तथा खेलाडीहरूसँग सहकार्य गर्दै आएको र आगामी वर्षहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। गाउँपालिका अध्यक्ष अन्सारीले हरिनगरमा व्यवस्थित खेलमैदानको अभाव रहेको उल्लेख गर्दै हाल प्रयोग हुँदै आएको हरिनगर खेलमैदानलाई सम्बन्धित निकायहरूसँग पहल गरी खेलकुदका लागि व्यवस्थित बनाइने आश्वासन समेत दिनुभयो ।


