इटहरी । अरुण गाउँपालिकाका विभिन्न विषयगत शाखाहरूको नयाँ कार्यकक्षमा गृहप्रवेश कार्यक्रम विशेष औपचारिक कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ। गृहप्रवेश कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष शालिकाराम खत्री र पूर्व गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले संयुक्त रूपमा रिबन काटेर सेवाको शुभारम्भ गर्नुभएको थियो। हिजो देखि कृषि, पशुपंक्षी, शिक्षा, स्वास्थ्य, पञ्जीकरण, महिला तथा बालबालिका लगायतका विषयगत शाखाहरूको सेवा पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको भवन बाट प्रवाह गरिने गाउँपालिकाले जनाएको छ। नयाँ कार्यकक्ष सञ्चालनमा आएसँगै सेवाग्राहीलाई थप सहज र प्रभावकारी सेवा प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रमका अवसरमा मिति २०८० साल पौष १९ गतेदेखि २०८२ साल पौष १२ गतेसम्म निःशुल्क रूपमा विद्यालयअन्तर्गतको भवन उपलब्ध गराई सहयोग पु¥याएको भन्दै श्री शारदा माध्यमिक विद्यालय, प्याउली परिवार लाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। गृहप्रवेश कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडा नम्बर २ का वडाध्यक्ष इन्द्र पुलामी मगर, वडा नम्बर ३ का वडाध्यक्ष कुमार कार्की, विषयगत शाखा प्रमुखहरू, कर्मचारीहरू तथा स्थानीय सेवाग्राहीहरूको गरिमामय उपस्थिति रहेको थियो।


