इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने भएका छन् । मङ्गलबारदेखि सुरु हुने मेलामा खेलाइने अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । आयोजक सङ्घीय मेला खेलकुदरसांस्कृतिक क्लबले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटनको दिन मङ्गलबार दुई वटा खेल हुनेछ । उद्घाटनको दिन पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन र फुङ्लिङ नगरपालिका तथा आयोजक ‘बि’ र सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकबिच खेल हुने छ । यस्तै दोस्रो दिन बुधबार पहिलो चरणकै खेलअन्तर्गत सिदिङ्वा गाउँपालिका–६ मेहेले र पाथीभरा याङ्वरक–३ तिरिङ्गे, सिदिङ्वा–४ साब्लाखु र सिरिजङ्घा–५ पेदाङबिच प्रतिस्पर्धा हुने छ । सोही दिन मेरिङ्देन–६ नाल्बु र सिदिङ्वा–३ आङ्खोप, सिदिङ्वा–५ लिम्बुदिन र सिरिजङ्घा–१ सिनामबिच खेल हुने आयोजकले जनाएको छ । बुधबार नै नाल्बु र आङ्खोपको विजेतासँग मिक्वाखोला–५ पापुङ तथा लिम्बुदिन र सिनामबिचको विजेतासँग आयोजक ‘ए’ बिचको खेल हुने छ । बिहीबार भने दोस्रो चरण र सेमिफाइनल चरणको खेल हुने आयोजक सङ्घीय मेला खेलकुदरसांस्कृतिक क्लबका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । अध्यक्ष थेबेकाअनुसार फाइनल खेल पुस १८ गते शुक्रबार हुने छ । यता प्रतियोगिताको विजेताले एक लाख दुई हजार ६६ रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । उपविजेताले भने ५० हजार २८२ रुपियाँ पुरस्कार पाउने खेलकुद संयोजक थेबेले जानकारी दिनुभयो । उहाँकाअनुसार सर्बोत्कृष्टसहित विभिन्न विधामा खेलाडीले पुरस्कार पाउने छन् । भलिबल प्रतियोगिता फाइनलपछि शुक्रबार साँझ नै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रम हुने पनि आयोजकले जनाएको छ । सङ्घीय मेला सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमे बजारमा लाग्ने र मेला तथा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष थेबेले जानकारी दिनुभयो ।


