इटहरी। गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति इटहरी १, १९ र २० तरहराको आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा मनाइने तमु ल्होसार पर्व धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ रहनुभएको थियो भने कार्यक्रम गुरुङ बौद्ध गुम्बा तमु सेवा समितिका अध्यक्ष दल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
ल्होसार विशेष कार्यक्रममा गुरुङ समुदायको मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो। साथै, उच्च शिक्षा हासिल गरेका चार जना विद्यार्थीलाई खादा, माला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समितिका अध्यक्ष, कार्यक्रम संयोजक तथा इटहरी वडा नम्बर २० का वडा सदस्य तनुज गुरुङ (सुरेश) ले युवाहरूले आफ्नो संस्कार र संस्कृति बुझ्न तथा संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले गुरुङ समुदायको पहिचान जोगाउन यस्ता कार्यक्रम निरन्तर गरिने पनि उल्लेख गर्नुभयो ।
त्यस्तै, प्रमुख अतिथि वडा अध्यक्ष मणिराम श्रेष्ठले तरहरामा गुरुङ समुदाय एक महत्वपूर्ण जातीय समुदाय भएको उल्लेख गर्दै वडा कार्यालयबाट आगामी दिनमा पनि आवश्यक आर्थिक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अवसरमा तरहरा शुभ स्वास्थ्य सामुदायिक केन्द्र तथा अनुप्रित मेडिकल हल तरहराको सहकार्यमा निःशुल्क सुगर र प्रेसर जाँच शिविर सञ्चालन गरिएको थियो, जसबाट एक सयभन्दा बढी सेवाग्राहीले लाभ लिएका थिए। यसैबीच, कलाकार सुपर सुरेश (कार्की) ले विशेष सांकेतिक प्रस्तुति राखेर दर्शकको मन जित्नुभएको थियो।
कार्यक्रममा विभिन्न गुम्बा समुदायका प्रतिनिधि, स्थानीय अगुवा तथा गुरुङ समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। आज देशभर रहेका गुरुङ समुदायले तमु ल्होसार पर्व विविध कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाएका छन्।


