इटहरी । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ सरकार अघि बढिसकेको बताउनुभएको छ । गृह मन्त्रालय र कोशी प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको निर्वाचन केन्द्रित सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूति सहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको बताउनुभएको हो । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याएको विषय प्रति सरकार संवेदनशील भएर काम गरिरहेको उहाले बताउनुभयो । उहाले भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको धारणा राख्नुभयो । सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उहाको भनाइ छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने शान्ति सुरक्षाको अवस्था अझै सुदृढ नभएकाले चूनावको नाममा अर्को मुठभेड र द्वन्द्वतर्फ अघि बढ्न नहुने बताउनुभयो । सरकार संयमित भएर निर्वाचन हुने वातावरण भए सवै पक्ष निर्वाचनमा होमिने उहाको भनाइ छ । मुख्यमन्त्री कार्कीले गैरदलीय सरकारलाई तटस्थ भएर निर्वाचन गराउन आग्रह गर्नुभयो । सुरक्षाकर्मीलाई उच्च मनोवल बनाउनका लागि आवश्यक साधनस्रोतले सम्पन्न बनाउन गृह मन्त्रालयलाई मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराउनुभयो ।