इनरुवा | साझा सहकारी संस्था लिमिटेड, इनरुवाको २३औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट दिनेश कोइराला सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन हुनुभएको छ। उक्त साधारणसभाबाट उपाध्यक्षमा विनिता दाहाल चयन हुनुका साथै ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

संस्थाका निवर्तमान अध्यक्ष हरिलाल मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य डा. इस्रायल मन्सुरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा सहकारीको वर्तमान अवस्था, चुनौती र भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष दिनेश कोइरालाले संस्थालाई सदस्य–केन्द्रित बनाउँदै सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहकारीलाई आर्थिक रूपमा सबल, पारदर्शी र उत्तरदायी बनाउँदै सदस्यहरूको बचत सुरक्षित गर्ने, ऋण लगानीलाई उत्पादनशील क्षेत्रमा विस्तार गर्ने तथा संस्थाको सेवा क्षेत्र फराकिलो बनाउने लक्ष्य रहेको बताउनुभयो।

त्यसैगरी प्रमुख अतिथि डा. इस्रायल मन्सुरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सहकारी संस्थाहरू स्थानीय आर्थिक विकासको महत्वपूर्ण आधार भएकाले संस्थालाई अझ व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सहकारीमा सुशासन, पारदर्शिता र सदस्य सहभागितालाई विशेष प्राथमिकता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा विभिन्न सहकारी संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू, संस्थाका वर्तमान तथा पूर्व पदाधिकारीहरू र शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सहकारीको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको अन्त्यमा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।