इटहरी ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो । गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज पहुँच सुनिश्चित गर्न पालिकाको रु ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहित पदमार्ग निर्माण गरिएको छ । यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ । यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने उद्देश्यले सङ्घीय सांसद लक्ष्मी राईको संसद् विकास कोषबाट प्राप्त रु एक लाख सहयोगमा कोटगढी परिसरमा मन्दिर निर्माण गरिएको छ ।

पदमार्ग र मन्दिर निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहास प्रेमीहरूको आवागमनमा उल्लेख्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले पौवादुङमा गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थलको एकीकृत विकासमा जोड दिइएको बताउनुभयो । स्थानीयका अनुसार कोटगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासपछि यस क्षेत्रको पहिचान थप उजागर हुन थालेको छ । यसले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे जानकारी गराउने अवसरसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले धारणा राख्नुभयो । आगामी दिनमा थप पूर्वाधार, विश्रामस्थल तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्नसके कोटगढी क्षेत्र भोजपुर जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटनसँग जोडेर विकास गर्ने स्थानीय सरकारको पहलले पौवादुङमा गाउँपालिकाको समग्र सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ ।