इटहरी । मोरङको पथरी शनिश्चरे –१० मोरङ्गी खोलामा सडक निर्माणका क्रममा सडक किनारा धस्सिएपछि सवारी साधन आवातजावतका लागि नयाँ लामो डाइभर्सन संचालनमा ल्याइएको छ । हाललाई मोरङको पथरी शनिश्चरे वडा नं १ को जाँते मोड देखि जाँते गाउँ हुँदै लेटाङ र कानेपोखरी सडकलाई अल्पकालीन सडक सञ्चालनमा ल्याइएको हो । मोरङ्गी खोलाको सडकको दक्षिण पश्चिम पट्टि भागमा एसियन हाइवे रोडको थप पूर्वाधार निर्माणका क्रममा धसिएका कारण सवारी साधन आवागमनमा पुर्ण रुपमा रोक लगाइएको छ । नजिकमा अर्को विकल्पको बाटो नहुँदा ठूला– साना सबै सवारी साधनहरू तथा यात्रुहरूले पश्चिमबाट आउँदा कानेपोखरी देखि लेटाङ बजार – जाँतेगाउँ हुँदै पथरीको जाँते मोड आउनुपर्नेछ भने पूर्वबाट पश्चिम जाने सवारी साधनहरूले पथरीको जाँते मोडबाट लेटाङ हुँदै कानेपोखरी घुम्नुपर्ने भएको छ । वैकल्पिक सडकको लम्बाई करिब २२ किलोमिटर रहेको छ । यसैबीच तत्काल समस्या समाधान निकाल्ने उद्देश्यले आजै एशियन हाइवेका परियोजना प्रबन्धक जगत प्रजापति, परियोजना निमार्णकर्ता डोरमणि पौडेल सहित एशियन हाइवे निर्माण कम्पनीका अन्य प्रतिनिधिहरू, इन्जिनियर एवम्  सरोकारवाला विज्ञहरू , पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, कानेपोखरी गाउँ पालिकाकी अध्यक्ष राजमती इङनाम,  इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी तुलसी प्रसाद अर्याल लगायतको उपस्थितिमा बैकठ बसेको थियो । छलफलमा केही दिन भित्रैमा मोरङ्गी खोलाको हालको पुलको दक्षिणपट्टि दुईतर्फी सवारी साधन आवागमन गर्न सहज हुनेगरी वैकल्पिक डाइभर्सन तत्काल निर्माण गर्ने निर्णय भएको इलाका प्रहरी कार्यालयका प्रमुख तुलसीप्रसाद अर्यालले जानकारी दिनुभयो। उक्त छलफल बैठकले नयाँ यातायात सञ्चालनका लागि रुट तालिका सार्वजनिक गरिने एशियन हाइवे सितापुरी– गोठगाउँ सडक खण्ड अन्तर्गत हेल्थ एण्ड सेफ्टी बोर्डका इन्चार्ज विपुल पोखरेलले जानकारी दिनुभएको छ ।