इटहरी स् शरद ऋतुको यो सिजनमा नेपालका पदमार्ग र हिमालका बेसक्याम्प आरोहीले भरिभराउ छन्। मनास्लु, आमादब्लम र हिमलुङजस्ता चुचुराहरू चढ्न संसारभरका १ हजार ४ सय बढी पर्वतारोहीले पर्यटन विभागबाट अनुमति लिइसकेका छन्।
धेरै चुली र डाँडाहरू चढ्न पदयात्रीहरू तम्तयार छन्। केही दिनको झरी र हिमपातपछि खुलेको मौसमले उनीहरू उत्साहित छन्। तर, सोलुखुम्बु र रामेछापको सिमानामा आकाशतिर फर्किएर ठिंग उभिएको ६ हजार ९ सय ५८ मिटर अग्लो नुम्बुर हिमाल भने यस वर्ष पनि पूर्ण रूपमा सुनसान छ। २०८३ को शरद सिजनमा नुम्बुर चढ्नका लागि एउटै पनि अनुमति जारी भएको छैन। यस हिमालको कथामा एउटा अचम्मको विरोधाभास छ। अघिल्लो वर्षमात्रै यही सिजनमा ९२०८२ मा० इतिहासमै पहिलो पटक सेभेन समिट ट्रेक्समार्फत आएका तीन विदेशी आरोही— इटालियन नागरिक हर्भ, जर्मन नागरिक फेलिक्स र पोल्यान्डका आडमले १५ घण्टाको कठिन संघर्षपछि नुम्बुरको चुचुरोमा सफलतापूर्वक मानव पाइला टेकेका थिए। तर, यो ऐतिहासिक सफलताको ठीक अर्को वर्ष २०८३ मा नुम्बुरमा फेरि शून्यता छाएको छ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीको अघिल्तिर आँखैअघि सेतो पर्दा झैं देखिने सेतो हिमाल पर्यटनका आँखाहरूले यसलाई ‘प्रचारप्रसारको अभाव’ देख्न सक्छन्, तर हिमाली भेगका बुढापाका र रैथाने शेर्पा संस्कृतिलाई सुन्ने हो भने यो हिमाल सुनसान हुनुको कारण सरकारी उदासीनतामात्र होइन। यसको पछाडि परापूर्वकालदेखि चल्दै आएका तीन वटा यस्ता रोचक र रहस्यमयी मिथकहरू छन्, जसको मनोवैज्ञानिक डर र आस्थाले आज पनि मानिसहरूलाई यो हिमाल चढ्नबाट रोक्छ। हिन्दु र बौद्धधर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको दूधकुण्डको शिर यही हिमाल रहेकाले उनीहरू नुम्बुरमा पाइला राख्न डराउँछन्। पर्वतारोही तथा पर्यटन व्यवसायी आङ्बाबु शेर्पा आस्थाका हिसाबले मानिसहरूले उक्त हिमालको शिरमा मानव पाइला राख्न हिचकिचाएका हुन्। ‘परम्परात धार्मिक आस्था र विश्वास एकातिर छ भने अर्कातिर सबै तीर्थालुहरूले देखिने गरी दूधकुण्डको शिर पनि यही हिमालको एक पाटो रहेको छ यही कारण आरोहणमा रुचि देखिएको छैन,’ उनले अन्नपूर्णसँग भने।पर्यटनका हिसाबले सबैभन्दा धेरै दृश्यावलोकन गरिने उक्त हिमाल आरोहण हुने हो भने थोरै लगानीमा सहजै शिखर चुम्न सकिने शेर्पाको भनाइ छ। यसका लागि पर्वतारोहण संघ तथा सरकारी निकायको पहल जरुरी हुन्छ। मानिसहरूको विश्वास कायम राख्दै दूधकुण्डको शिरभन्दा अर्को कुनाबाट पनि नुम्बुर आरोहण गर्न सकिने भएकाले यस तर्फ पहल भए रोयल्टी आर्जन र आरोहणका हिसाबले सगरमाथापछिको रोजाइमा पर्न सक्ने शेर्पाको दाबी छ।
मिथक एकः रक्षक देवता ‘खुम्बी युल्हा’ को आक्रोश र अनिष्टको डर
नुम्बुर हिमाल स्थानीय शेर्पा समुदायका लागि केवल हिउँको थुप्रो होइन, यो उनीहरूको गाउँ र सिंगो क्षेत्रको रक्षा गर्ने शक्तिशाली देवता ‘खुम्बी युल्हा’को साक्षात रूप हो। रैथाने लोकविश्वास अनुसार नुम्बुर हिमालको चुचुरो देवताको ‘शिर’ हो। परापूर्वकालदेखि नै विश्वास गरिन्छ कि देवताको शिरमा मानव पाइला पर्नु महापाप हो। यदि कोही जबरजस्ती यसको चुचुरोमा चढ्यो भने रक्षाग्नी देवता क्रोधित हुन्छन्। देवता रिसाएमा सिंगो गाउँमा महामारी फैलिने, बालीनाली नष्ट हुने र ठूलो हिमपहिरो आएर फेदका बस्तीहरू नै सखाप हुने डर आज पनि स्थानीय जनमानसमा उत्तिकै जीवित छ। यही धार्मिक विश्वासले स्थानीय गाइड र शेर्पाहरू व्यावसायिक टोली लिएर यो हिमाल आरोहण गर्न मानसिक रूपमा तयार हुँदैनन्।
मिथक दुईः पवित्र दूधकुण्डको ‘श्राप’ र अक्सिजनको रहस्यमयी पासो
नुम्बुर हिमालको ठीक फेदमा अवस्थित छ— प्रसिद्ध धार्मिक तीर्थस्थल दूधकुण्ड। यस कुण्डलाई भगवान् शिवको पवित्र क्रीडास्थल र दूधकोशी नदीको मुहान मानिन्छ। यस हिमालसँग जोडिएको दोस्रो मिथक दूधकुण्डको पवित्रता र प्राचीन समयको एउटा रहस्यमयी घटनासँग जोडिएको छ। प्राचीन समयमा अक्सिजनको कमी र लेक लाग्ने वैज्ञानिक कारणबारे मानिसहरू अनभिज्ञ थिए। इतिहासमा जब–जब केही मानिसहरूले यस हिमालको माथिल्लो भागमा जाने प्रयास गरे, उनीहरू श्वासप्रश्वासको समस्याले अचानक बिरामी परे वा बेहोस भएर ज्यान गुमाए। स्थानीयले यसलाई वैज्ञानिक असर मानेनन्, बरु ‘पवित्र हिमाल र शिवको कुण्डलाई अपवित्र बनाउन खोज्दा देवताले दिएको श्राप’ ठाने। यही डरले गर्दा पुस्तौंदेखि नुम्बुर हिमालतिर जान खोज्नुलाई ‘मृत्युको पासो’ मा पर्नु सरह मानियो। यस्ता मिथकले मनोवैज्ञानिक रूपमा आरोही र पथ प्रदर्शकलाई त्रास सिर्जना गरेको हिमाल आरोही शेर्पा बताउँछन्।
मिथक तीनः ‘यती’ को अभेद्य किल्ला र अदृश्य तान्त्रिक शक्ति
नुम्बुर हिमालको भूगोल निकै जटिल, चट्टानी र तीव्र हावा चल्ने खालको छ। यसको उच्च भागमा रहेका गुफाहरू र हिउँका खोंचहरूलाई लिएर हिमाली भेगमा अर्को एउटा रोमाञ्चक दन्त्यकथा प्रचलित छ। बौद्ध धर्मका महान गुरु ‘गुरु रिम्पोछे’ ले यस क्षेत्रमा तपस्या गर्दा कतिपय हिमालहरूलाई अदृश्य शक्तिले बाँधेको र यहाँ रहस्यमयी हिममानव ‘यती’को बासस्थान रहेकोमात्र नभई अहिले पनि जीवित रहेको र तपस्या गर्दा देख्न सकिने विश्वास गरिन्छ। आधुनिक विज्ञानले यतिलाई मिथकमात्र माने पनि, रैथाने किंवदन्तीहरूमा नुम्बुर हिमाललाई एउटा यस्तो ‘अभेद्य किल्ला’ मानिन्छ, जहाँ अदृश्य शक्तिहरूको बास छ र त्यहाँबिना अनुमति सम्बन्धित लामा वा साधारण मानिस पुग्दा दिशा भ्रम हुने वा गायब हुने विश्वास गरिन्छ।
इतिहास भन्छ प्रतिबन्धित होइन, ‘प्राविधिक’ रूपमा कठिन
मिथकहरू जतिसुकै डरलाग्दा र अभेद्य सुनिए पनि आधुनिक पर्वतारोहणको इतिहासमा नुम्बुर हिमालको पहिलो सफल आरोहण सन् १९६३ मे २९ मा जापानी पर्वतारोही हिरोशी मात्सुओ र नेपाली शेर्पा गाइड मिङ्मा छिरिङले गरेको पढ्न पाइन्छ। त्यसको लामो समयपछि अघिल्लो वर्ष ९२०८२ मा० इटालियन, जर्मन र पोल्यान्डका आरोहीले फेरि इतिहास रचे। व्यावसायिक आरोहण एजेन्सीहरूका अनुसार नुम्बुर हिमाल प्राविधिक रूपमा निकै कठिन छ। यहाँको ठाडो चट्टानी गढ, अत्यधिक हिमपहिरोको जोखिम र तीव्र हावाका कारण पनि गाइडहरूले मनास्लु जस्तो सजिलो हिमाल रोज्छन्, तर नुम्बुर लैजान हिचकिचाउँछन्।
आधुनिक पर्यटन भर्सेस प्राचीन आस्था
२०८२ मा विदेशी आरोहीले सफलता पाएपछि अब नुम्बुर हिमाल व्यावसायिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको थियो। तर, २०८३ को यो शरद ऋतुमा आरोहीको संख्या पुनः ‘शून्य’ हुनुले प्राचीन मिथकहरूको मनोवैज्ञानिक प्रभाव र यस हिमालको कठिन भूगोल कति चुनौतीपूर्ण छ भन्ने स्पष्ट पार्छ। व्यावसायिकताको नाममा सगरमाथा वा मनास्लु जस्तै नुम्बुरको पर्यावरणलाई पनि फोहर र भीडभाडयुक्त बनाउनुभन्दा, यसलाई यसकै प्राचीन मिथक, धार्मिक पवित्रता र जैविक विविधताको रक्षाका लागि ‘रहस्यमयी र शान्त’ नै रहन दिनु हिमाली संस्कृतिको वास्तविक सम्मान हो भन्ने एकथरी मत बलियो छ। नुम्बुरको यो वर्षको ‘शून्य बुकिङ’ हिमालले आफ्नो प्राचीन साख र रहस्य आफैं जोगाएर राखेको एउटा जीवन्त प्रमाण मान्न सकिन्छ।


