इटहरी स् सुनसरीको धरानमा गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउण्ड हवाई फायर गरी पाँच जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित दुईवटा स्कार्पियो गाडी र पाँच जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान करिब ३ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले च्यानडाँडामा दुईवटा स्कार्पियो गाडी जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा फेला पारेको थियो। प्रहरीका अनुसार दुवै गाडीमा लोड गरिएको अवस्थामा २ क्विन्टल ९ किलो ४२० ग्राम गाँजा बरामद भएको हो। प्रहरी टोलीलाई देखेपछि गाँजासहित भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुवनीका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्ख रहेका छन्। प्रहरीले उनीहरूको साथबाट बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीसहित गाँजा बरामद गरेको जनाएको छ।  पक्राउ परेका पाँचै जनालाई बरामद गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बरामद गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउने योजना थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।