इटहरी । पूर्वी मोरङकै नाट्य विधामा संलग्न नाट्यकर्मीहरूको लागि पथरी शनिश्चरेमा नाट्यशाला निर्माण गरिने भएको छ । सोमबार शब्द थिएटर पथरी शनिश्चरेले एक कार्यक्रमको आयोजना गर्दै पूर्वी मोरङका नाट्यकर्मी तथा कलाकारहरूको लागि भव्य नाट्यशाला निर्माण स्थलको टुङ्गो लागेको जनाएको हो। स्थानीय हिरा तिम्सिनाले कलाकारहरूको प्रतिभा र कलाकारिता प्रस्फुटन, विकास र सम्बर्धनका लागि नाट्यशाला निर्माण गर्न आवश्यक पर्ने ४० लाख बढी मूल्य बराबरको करिब चारकठ्ठा क्षेत्रफलको जमिन निःशुल्क दान गरेको बताउनुभयो । उक्त कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ का वडा अध्यक्ष नैना राईले लामो समयदेखि कला क्षेत्रका नव प्रवेशी देखि कलाकारितामा पोख्त कलाकारहरूको सिर्जना प्रस्फुटन, विकास , श्रीबृद्धि र सम्बर्धनका लागि अभाव खड्किँदै आएको आफूले महसुस गरेको र सोही अभावलाई मध्यनजर गर्दै वडा कार्यालयले सबै कलाकारका लागि एक साझा मञ्चको रूपमा यो नाट्यशाला निर्माण गर्ने उद्देश्य लिएको बताउनुभयो । राईले तत्कालका लागि वडा कार्यालयले २ लाख विनियोजन गर्ने र आवश्यक बजेटका लागि आगामी नगरसभामा माग गर्ने उद्देश्यले अगाडि बढिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा शब्द थिएटर पथरी शनिश्चरे २, मोरङ्गको अध्यक्ष अशोक साम्पाङले जग्गा दाता र वडा प्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नाट्यकर्मी, समाजसेवी, बौद्धिक व्यक्तित्व, कलाकार, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


