सुनसरी । नेपाल नाट्य प्रतिष्ठानले विक्रमश्रीको अध्यक्षतामा ११ सदस्यीय कोशी प्रदेश समिति गठन गरेको छ। इटहरीस्थित मेट्रिक्समा शनिबार आयोजित प्रदेशस्तरीय भेलाबाट उक्त समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवगठित समितिको उपाध्यक्षमा कविता नेपाल, सचिवमा वीरेन्द्र थोक्लीहाङ, सहसचिवमा गोपाल कृति र कोषाध्यक्षमा जुनु बुढाथोकी (जीवन) चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विजय सुब्बा, भरत बर्वरिक, दिपेन्द्र सिंह, तुलसी घिमिरे तथा डा. देवी क्षेत्री दुलाल रहेका छन्।

नेपाल नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा कोशी प्रदेशका ६ जिल्लाबाट आएका प्रतिनिधि रंगकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेशमा नाट्यकला, रंगमञ्च र सांस्कृतिक गतिविधिलाई संस्थागत रूपमा विस्तार गर्ने, स्थानीय प्रतिभाको प्रवर्द्धन गर्ने तथा नाट्य विधामार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।

नवगठित समितिले आगामी दिनमा प्रदेशस्तरीय नाट्य महोत्सव, कार्यशाला, प्रशिक्षण तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, कोशी प्रदेशको सांस्कृतिक पहिचानलाई नाट्यकला मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको छ।