इटहरी । नेपाल शैक्षिक परामर्श संघ ९ईक्यान० को उपाध्यक्ष  पदका लागि सुनसरीका वासुदेव दाहालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने संघको २० औँ साधारणसभाले नयाँ नेतृत्वको चयन गर्दैछ ।  दाहालले उपाध्यक्ष पदका लागि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय व्यवसायीको सर्वोपरी हितका निम्ति लागि पर्ने एजेण्डाका साथ उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आउँदा दिनमा शैक्षिक परामर्श व्यवसायको श्रीवृद्धिसँगै उक्त क्षेत्रका व्यवसायको हितका निम्ति सम्पूर्ण समय खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् । १९ औँ साधारणसभामा महासचिवका उम्मेदवार दाहाल पराजित भएका थिए । यसपटक जित्ने गरी चुनावी यात्रामा लागेको उनी बताउँछन् । इनरुवा नगरपालिका– ६ मधेसा, झकनझोराका स्थायी बासिन्दा दाहाल अहिले काठमाडौंको बागबजारमा प्राञ्जल एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्छन् । उनको शैक्षिक परामर्श सेवाबाट लाभान्वित भएर एक हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनको अवसर हासिल गरिसकेका छन् ।  बढीजसो अष्ट्रेलियाका लागि शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने दाहालले यसअघि इक्यानको सचिवको जिम्मेवारी बहन गरिसकेका छन् । विगतमा सदस्य र सचिव रहँदा संघमा निर्वाह गरेको भूमिकाका कारण उनी व्यवसायीबीच लोकप्रिय छन् ।

सुनसरीको मधेसास्थित जनता माविबाट एसएलसी र महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट स्नातक गरेका उनी विद्यार्थी जीवनमै राजनीतिक गतिविधिमा संलग्न भए । पहिला एमाले र पछि सशस्त्र द्वन्द्वकालमै माओवादीमा सम्बद्ध रहे । त्यसक्रममा केही समय जेल जीवन पनि बिताए । माओवादी गतिविधिमा सामेल भएर जेल परेका उनी त्यहाँबाट रिहा भएपछि जीवनरक्षाका निम्ति काठमाडौं गएका हुन् । यद्यपि, त्यहाँ रहेर पनि पार्टी कामसँगै शैक्षिक क्षेत्रमा संलग्न भए । उनले निजी विद्यालयको शिक्षकबाट आफ्नो शैक्षिक सेवा प्रारम्भ गरेका थिए ।