इटहरी ।  नेपाल सरकारले कृषि बिमालाई प्राथमिकतामा राखेको भए पनि इलाममा भने कृषि बिमा नै नभएको पाइएको छ ।

अलैँची, अदुवा, चिया, फलफूल, खाद्यान्नलगायतका कृषि तथा नगदेबालीको खेती भए पनि कुनै पनि बालीमा कृषि बिमा नभएको पाइएको हो । नेपाल बिमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भएको कृषि बिमासम्बन्धी अन्तर्क्रियाका सहभागीले सरकारले अपनाएको कृषि बिमासम्म जिल्लाका प्रायः जसो किसान पुग्नै नसकेको बताइएको छ । राष्ट्रिय किसान महासङ्घका राम मगरले कुनै पनि निर्जीवन बिमा कम्पनीहरू बाली बिमा गर्न इच्छुक नदेखिएको बताउनुभयो । इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंले सुन्तला खेतीमा बिमा गर्न खोज्दा पनि नभएको बताउनुभयो । गएको विपत्लाई केन्द्रित गरेर आठ सय किसानको अवस्था अध्ययन गर्दा एक जना किसानको पनि कृषि बिमा नभएको पाइएको इलाम नगरपालिकास्थित कृषि शाखा प्रमुख उपेन्द्र न्यौपानेले बताउनुभयो ।

किवी र चिया बालीमा थोरै सङ्ख्यामा बिमा गरेको युनाइडेड अजोडका इलाम शाखा प्रमुख टीकाराम पुरीले किसानसम्म बिमा कम्पनी पुग्न समस्या रहेको बताउनुभयो । पुरीले बिमित किसानले पनि कसरी बिमा दाबी गर्ने भन्ने जान्न नसकेको बताउनुभयो । बालीमा क्षति भएको प्रमाण नष्ट भइसकेपछि मात्र किसान बिमा दाबी गर्न आउने गरेको पुरीले बताउनुभयो । बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ लागु भए पनि यो धरै प्रभावकारी नदेखिएको कृषि ज्ञान केन्द्र प्रमुख रविकिरण अधिकारीले बताउनुभयो । कार्यक्रममा बिमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवले कृषि बिमाको कार्यक्रम भर्खरैदेखि लागु भएकाले यसमा बढीभन्दा बढी किसानलाई सहभागी गराउने उद्देश्य रहेको बताउनुभयो । कोशीका सबै जिल्लामा बिमाको कार्यक्रम लागु गराउने प्रदेशको लक्ष्य रहेको देवले बताउनुभयो ।