इटहरी। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुनसरी जिल्ला समितिले इनरुवा नगरपालिका–२ स्थित श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेश मेहतामाथि गम्भीर आरोप लागेको घटनामा छानबिन गरी २४ घण्टाभित्र पक्राउ गर्न माग गरेको छ।

युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि आरोपित शिक्षकले अध्ययरत छात्राहरूमाथि लामो समयदेखि दुर्व्यवहार गर्ने, विभिन्न प्रलोभन देखाउने तथा परीक्षामा पास गराइदिने बहानामा दबाब दिने गरेको पीडित विद्यार्थीहरूको गुनासो छ। पीडित छात्राहरूले मिति २०८२र०८र२२ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको भए पनि हालसम्म आरोपी शिक्षकलाई पक्राउ नगरिनु गम्भीर विषय भएको युनियनको ठहर छ।

अनेरास्ववियु सुनसरीका अनुसार जिल्ला प्रहरी कार्यालयले घटनालाई गम्भीरताका साथ नलिई ढिलासुस्ती गरिरहेको छ। विज्ञप्तिमा आरोपित शिक्षकलाई संरक्षण दिन खोजिएको आशंकासमेत व्यक्त गरिएको छ।

युनियनले घटनासम्बन्धी तीन बुँदे माग अघि सारेको छ।

पहिलो, आरोपित शिक्षक सुरेश मेहतालाई २४ घण्टाभित्र पक्राउ गर्नुपर्ने।

दोस्रो, घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गर्नुपर्ने।

तेस्रो, यदि आरोप पुष्टि भएमा कानुनअनुसार कडा कारबाही गर्दै पीडित विद्यार्थीहरूलाई न्याय दिलाउनुपर्ने।

विज्ञप्तिमा भनिएको छ, यदि पीडित र युनियनका मागप्रति सम्बन्धित निकायले बेवास्ता गरेमा संगठन सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्नेछ।

विज्ञप्तिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनसरी जिल्ला समितिका अध्यक्ष शेखर रेमीले हस्ताक्षर गर्नुभएको छ।