इटहरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा –८ मा बिहीबार साँझ मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी –८ सुनसरी ५१ वर्षीय कमल कोइरालाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को।३१ प ५३९० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा।प्र। ०३–००१–ख १६०२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चिप्लिएर लडेपछि पछाडीबाट आउँदै गरेको बसले ठक्कर दिएको स्थानीयले बताएका छन् । मोरङको बेलबारी –४स्थित कसेनी माध्यमिक विद्यालयका शिक्षक कोइराला केही वर्ष इटहरी बसाई सरी जानुभएको थियो । यसैगरी, बुधबार राति पथरी– जाँते सडक खण्डअन्तर्गत जाँते–९ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक पथरीशनिश्चरे –१० का ३२ वर्षीय विजय गुरुङको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय लेटाङका अनुसार जाातेबाट पथरी तर्फ जाँदै गरेको मे।६ प २५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते हुनु भएको थियो । उहाँको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्नु भएका २७ वर्षीय अरुण गुरूङको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।