इटहरी । थारु कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ११ वर्षअघि रामधुनी नगरपालिका–झुम्कामा स्थानीय महिला उद्यमी सिता थरुनीले सुरु गरेको ‘घोंघी बगिया थारु भिलेज’ आज थारु सभ्यता र मौलिक संस्कृतिको जीवित संग्रहालयका रूपमा स्थापित हुँदै गएको छ। सीमित स्रोत–साधनबाट सुरु भएको यो थारु भिलेज अहिले स्थानीयदेखि बाह्य पर्यटकसम्मको आकर्षणको केन्द्र बन्दै गएको छ। घोंघी बगिया थारु भिलेजमा थारु समुदायको परम्परागत घर, मौलिक भेषभूषा, कृषि औजार, हस्तकला, लोकसंस्कृति तथा दैनिक जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। यहाँ पुग्ने जो–कोहीले थारु समुदायको सांस्कृतिक जरा, संघर्ष र पहिचानलाई नजिकबाट अनुभूति गर्न सक्छन्। विशेषगरी घोंघी, भक्का, सिपि, बगिया, माछा का विभिन्न परिकार, उसिना भुजाको चटपटे जस्ता थारु समुदायका परम्परागत परिकारले आगन्तुकलाई मौलिक स्वादसँग साक्षात्कार गराउँदै आएका छन्। साथै बैलगाडा हलोजुवा, थारु जातिको विवाहमा प्रयोग हुने लबभुझा चुला, कोहबर चित्रकला लगायतका लोकसंस्कृतिले भिलेजलाई अझ जीवन्त बनाएको छ। करिब ११ वर्षको यात्रामा घोंघी बगिया थारु भिलेजले थारु भाषा, कला र संस्कृतिको संरक्षण मात्र होइन, स्थानीय युवाको सहभागिता, रोजगारीको अवसर र सामुदायिक आत्मगौरव बढाउने काम गरिरहेको छ। थारु संस्कृतिलाई पुस्तान्तरण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले भिलेजलाई शैक्षिक तथा सांस्कृतिक अध्ययनस्थलका रूपमा पनि विकास गरिँदैछ। रामधुनी नगरपालिकाको झुम्कामा अवस्थित घोंघी बगिया थारु भिलेजले तराईको मौलिक सभ्यता, परम्परा र जीवनशैलीलाई एकै स्थानमा अनुभूति गराउने गन्तव्यको रूपमा आफूलाई चिनाउँदै गएको छ। हराउँदै गएको थारु संस्कृतिलाई बचाउने यो पहल आज सांस्कृतिक गर्व र पहिचानको प्रतीक बन्दै गएको थारु कल्याणकारीणी सभा रामधुनी नगर समिति अध्यक्ष राजकुमार चौधरीले बताउनुभयो ।


