सुनसरी । थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तिला–संक्रान्ति माघी मेला तथा सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गरिने भएको छ ।
ग्रामथान संरक्षण समिति रामधुनी नगर समितिको आयोजनामा तथा रामधुनी नगरपालिका, वडा कार्यालयहरू, विभिन्न थारु संघ–संस्थाको सहयोगमा मेला आयोजना हुन लागेको हो । कार्यक्रम २०८२ साल माघ १ र २ गते रामधुनी नगरपालिका–९ झुम्का स्थित जितमहान चोकमा सञ्चालन हुनेछ । आयोजकका अनुसार तिला–संक्रान्ति तथा माघी पर्व थारु समुदायको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व हो । यस पर्वले सामाजिक एकता, आपसी सद्भाव र नयाँ वर्षको स्वागतको सन्देश दिने विश्वास गरिन्छ । माघी पर्वका अवसरमा थारु समुदायमा नयाँ वर्षको सुरुआत, पारिवारिक भेला, सामूहिक छलफल तथा नयाँ योजना निर्माण गर्ने परम्परा रहिआएको छ ।
मेलामा थारु समुदायका मौलिक खानाका परिकार, परम्परागत भेषभूषा, नाचगान, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै ग्रामथानसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी दिने प्रदर्शनीसमेत रहने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन माघ १ गते र समापन माघ २ गते गरिनेछ । बिहान ११ः३० बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने मेलामा एक स्टेज, स्टल तथा प्रवेशद्वारको व्यवस्था गरिएको छ ।

आयोजकले यो कार्यक्रम पुनः उद्घाटन नभई थारु मौलिक संस्कृति र माघी पर्वको प्रवर्द्धनका लागि गरिएको प्रमोसनल कार्यक्रम भएको स्पष्ट पारेका छन् । नयाँ पुस्तालाई मौलिक परम्पराबारे जानकारी गराउँदै सांस्कृतिक धरोहरको संरक्षणमा सबैको साझा भूमिका आवश्यक रहेको उनीहरूको भनाइ छ ।
सुनसरीलाई जानकारी उद्देश्य गराउने उद्देश्यले गरिएको पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभा रामधुनी नगर समिति अध्यक्ष राजकुमार चौधरीले , थारु महिला सभापति लिली चौधरी, स्थानीय थारु अगुवाहरू, साथै ञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


