इनरूवा | सुनसरीको इनरूवा नगरपालिका–५, बलाहामा अवस्थित शारदा माध्यमिक विद्यालयले आफ्नो ६९ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दण्डपाणी भण्डारीको अध्यक्षता तथा इनरूवा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।
वार्षिकोत्सबको अवसरमा विद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, सांस्कृतिक कार्यक्रम, प्रतिभा प्रस्फुटन कार्यक्रम तथा विद्यालयमा योगदान पुर्याएका शिक्षक, शिक्षिका तथा पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो।
सोही अवसरमा नेपाल संस्कृत विश्वविद्यालयबाट “सारस्वतेय महाकाव्यमा अलङ्कार योजना” शीर्षकमा नेपाली भाषामा विद्यावारिधि (Ph.D.) उपाधि हासिल गर्न सफल विद्यालयका प्रधानाध्यापक तिर्थराज भट्टराईलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयद्वारा सञ्चालन गरिएका परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा प्रतिभा प्रस्फुटनका लागि विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरू सञ्चालन गर्दै आएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद भण्डारीले शिक्षाको विकासका लागि इनरूवा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै शारदा माध्यमिक विद्यालयले यस क्षेत्रमा खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन विद्यालयका युवराज पौडेल र दीपा ढकाल (सन्जेल) ले गर्नुभएको थियो। कार्यक्रममा शिक्षा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्रबहादुर मल्ल, इनरूवा नगरपालिका–५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले विद्यालयको वार्षिक उत्सवको अवसरमा बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


