इटहरी । धनकुटाको मुगा पुगेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीले प्रदर्शन गरेको पानी तान्न प्रयोग हुने नयाँ प्रविधिप्रति कृषक आकर्षित भएका छन् ।
सौर्य ऊर्जा प्रणालीमार्फत करिब ६० मिटर माथि पानी फाल्ने प्रविधि कृषकमाझ प्रदर्शनीमा ल्याइएको हो । यो प्रविधि गाउँघरका खोला खोल्सा तथा पोखरीबाट माथि पानी तान्न उपयोगी हुने भएकाले कृषक आकर्षित भएका हुन् । हालसम्म यस्तो प्रणालीबाट पानी तान्ने प्रणाली एकै स्थानमा सेट गरी राख्नुपर्ने भएकामा प्रदर्शनीमा ल्याइएको प्रविधि भने प्रयोगकर्ताले जताततै लगेर चलाउन सक्ने खालको छ । यो प्रविधिको सबैभन्दा राम्रो विशेषता भनेको सानो मोटर र लचिलो सोलार पाता हो ।
जसका कारण कृषक वा प्रयोगकर्ताले सहज रूपमा आफूलाई आवश्यक परेको स्थानमा लगेर पानी तान्न र प्रयोग गरिसकेपछि सहज रूपमै घरमै ल्याएर राख्न सक्ने छन् । नास्टले भित्र्याएको यो प्रविधि अन्य प्रविधिभन्दा निकै भिन्न रहेको नास्टका प्राविधिक अधिकृत दीनबन्धु पराजुली बताउनुहुन्छ । यस्तो प्रणाली खानेपानी सिँचाइ तथा घरायसी प्रयोजनका लागि निकै उपयुक्त रहेको स्थानीय सीताराम राई बताउनुहुन्छ । यो प्रविधिमा कृषकको सहज पहुँच भए कृषकलाई लाभ पुग्ने पाख्रीबास नगरपालिकाका पूर्वमेयर बिर्सबहादुर राई बताउनुहुन्छ ।


