भोजपुर | पोवादुङमा गाउँपालिकाको मुख्य आयोजनामा तेस्रो आमन्त्रित पोवाडुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा बृहत माघी मेला आयोजना हुने भएको छ। 

गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार माघ १४ गतेदेखि सुरु हुने प्रतियोगिता तथा मेलामा जिल्लाभित्र तथा बाहिरका चर्चित क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। पोवाडुङमा रङ्गशालमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले माघ १० गते बेलुका ४ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। खेल तालिका माघ ११  गते बेलुका ४ बजे प्रकाशन गरिने कार्यक्रम संयोजक इन्द्र कुमार राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टिमले नगद ३ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई समेत विशेष पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

खेलकुदसँगै स्थानीय संस्कृति, पहिचान र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने बृहत माघी मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कला–संस्कृतिको प्रस्तुति तथा व्यापारिक स्टलहरू समेत रहनेछन् ।

स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा सामाजिक–सांस्कृतिक गतिविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । 

आयोजकले खेलप्रेमी दर्शक, खेलाडी तथा सर्वसाधारणलाई प्रतियोगिता तथा मेलामा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।