इटहरी । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौतिक सुरक्षासँगै डिजिटल माध्यमबाट फैलिन सक्ने मिथ्या सूचनालाई मुख्य चुनौतीका रूपमा लिएको छ। आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार सामाजिक सञ्जालमार्फत फैलिने अफवाह नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र नेपाल दूरसञ्चार प्राधिकरणका प्राविधिक टोली आयोगमै बसेर काम गरिरहेका छन्। फेसबुक र एक्स ९ट्विटरं०जस्ता प्लेटफर्मसँग पनि समन्वय भइरहेको छ। डिजिटल प्लेटफर्मसँग प्रत्यक्ष समन्वय गरेर अफवाह, भ्रामक सामग्री र घृणात्मक अभिव्यक्तिको तत्काल पहिचान तथा नियन्त्रणको व्यवस्था मिलाइएको आयोगको भनाइ छ। आयोगले माघ २ गते देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने जनाएको छ। १६५ निर्वाचन क्षेत्रका लागि बजेट स्वीकृत भइसकेको छ भने जिल्ला निर्वाचन कार्यालयलाई आवश्यक सामग्री खरिद गर्ने अधिकार दिइएको छ। यसैबीच ३५ लाख ७४ हजारभन्दा बढी मतदाता रहेको कोशी प्रदेशमा २८ निर्वाचन क्षेत्र रहेको छ। जसका लागि १ हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्र कायम गरिएको छ।