भोजपुर | भोजपुरको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान झल्काउने उद्देश्यका साथ “ऐतिहासिक भोजपुर डबली आयोजना हुने भएको छ। “हाम्रो प्रकृति, हाम्रो संस्कृति : पर्यटन नै हाम्रो आर्थिक उन्नति” भन्ने नारासहित मेला माघ १ गतेदेखि फाल्गुण ३ गतेसम्म सञ्चालन हुनेछ।
मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि फोटो तथा भिडियो प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, सामूहिक खेलकुद प्रतियोगिता, बिङ्गो खेल, लुडो प्रतियोगिता, बाइक रेसलगायत विविध आकर्षक कार्यक्रम समावेश गरिएका छन्।
मेलाको विशेष आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ। माघ १ गते ड्राभ्या ब्याण्ड र द्रव्य ब्याण्ड, माघ २ गते समिक्षा अधिकारी , माघ १० गते अस्मिता अधिकारी , माघ १७ गते रचना रिमाल सहित सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
त्यसैगरी माघ २३ गते जिल्ला स्तरीय माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ, जसमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद पुरस्कार प्रदान गरिनेछ। माघ ९ गते हुने स्लो बाइक रेस र माघ १६ गते हुने लुडो प्रतियोगितामा समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
फाल्गुण १ गते मेलाको समापन अवसरमा बम्पर भिडियो हाउजी हाउसफुल कार्यक्रम आयोजना गरिनेछ, जसमा स्कुटी पुरस्कारका रूपमा राखिएको छ। उक्त मेला उज्यालो भोजपुरको आयोजनामा हुन लागेको हो। मेलाले भोजपुरको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ।


