झापा । सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक घनश्याम घिमिरेको उपचारका क्रममा निधन भएको छ।
२०८२ कार्तिक १ गते बिहान करिब १०:३० बजे शिक्षालय परिसरभित्र ब्यारेकबाट कार्यालय भवनतर्फ जाने क्रममा उनी अचानक बेहोस भई ढलेका थिए। लगत्तै उनलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको थियो।
उक्त अस्पतालमा प्रारम्भिक उपचार तथा सिटी स्क्यानपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मोरङको विराटनगरस्थित बिराट नर्सिङ होममा लगिएको थियो। सोही दिन दिउँसो करिब २:२० बजे उनको टाउकोको शल्यक्रिया गरी स्नायु सम्बन्धी कक्षमा राखेर उपचार गरिएको थियो।
उपचारकै क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पौष १ गते उनलाई सशस्त्र प्रहरी बलको एपीएफ अस्पताल, बलम्बु काठमाडौंमा लगिएको थियो। त्यहाँको सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको थियो।
तर निरन्तर उपचारका बाबजुद माघ १ गते राति २१:२२ बजे अत्यधिक रक्तचाप नियन्त्रण हुन नसक्नु र अक्सिजनको कमीका कारण मुटु तथा फोक्सोको क्रिया अचानक बन्द भई उनको निधन भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।


