इटहरी । मोरङ्गको पथरी शनिश्चरे वडा नं ७ को लामाटोली – भोटेघुम्ती सडकमा कालोपत्रेका लागि विधिवत् शिलान्यास गरिएको छ ।
शनिबार एक कार्यक्रमका बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले लामाटोलीमा सडकको शिलान्यास गर्नुभएको हो। शिलान्यासका क्रममा उहाँले वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दै आएका स्थानीयवासीको मागअनुसार नै संघीय संसदका पूर्व सांसद डाक्टर सुनिल शर्मा र आफू कोशी प्रदेश सांसद भएको बेला पहल गरिएको उल्लेख गर्दै तीन चरणमा सडक खण्डका लागि ८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको उल्लेख गर्नुभयो।
उहाँले भौतिक पूर्वाधार मन्त्रालयबाट ३ करोड र सहरी विकास मन्त्रालयबाट २ करोड रुपैयाँ सहित ८ करोड बजेट विनियोजन भई टेन्डर लागि सकेको जानकारी दिनुभयो। उहाँले उक्त सडक खण्ड निर्माणका लागि निर्माण व्यवसायी कम्पनीलाई कुनै किसिमको अवरोध नगर्न पनि स्थानीय तथा सर्वसाधारणलाई अनुरोध गर्नुभएको थियो।
सोही क्रममा उहाँले वडा नम्बर १ का विभिन्न सहरी सडकखण्डको पुननिर्माणका लागि थप १ करोड विनियोजन भएको पनि उल्लेख गर्नुभयो। उक्त अवसरमा विभिन्न पार्टी पंक्तिका कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। वर्षौंदेखि वर्षामा हिलो र हिउँदमा धुलो खेपिरहेका स्थानीयवासीहरू उक्त सडक खण्डमा कालोपत्रे हुने भएपछि हर्षित भएका छन्। स्थानीय व्यवसायी चन्द्रकुमार खड्काले असार महिना सम्ममा निर्माण सम्पन्न गरी जनतालाई हस्तान्तरण गर्ने बताएपछि अत्यन्तै खुसी लागेको बताउनुभयो ।
२० वर्ष देखि विभिन्न रोगव्याधि र हिलो धुलो खप्नु परेको सुनाउनु हुदै बाटो बन्ने हुँदा आफूहरूको व्यापार र व्यवसायमा पनि टेवा पुग्ने आशा व्यक्त गर्नुभयो । पथरी बजार देखि हसन्दह अमरदह हुँदै सुनवर्षी ( डाइनिया) जोड्ने यो सडकले आवतजावत गर्न सुविधा उपलब्ध हुने विश्वास गरिएको छ ।


