इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कोशी प्रदेश समितिको आयोजनामा विद्यालय शिक्षामा रूपान्तरण सम्बन्धी प्रदेशस्तरीय एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

इनरुवा नगरपालिका–३ स्थित सखुवा चोकमा सम्पन्न कार्यक्रमले विद्यालय शिक्षामा व्यवहारिक तथा दीर्घकालीन सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने एन–प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले बताउनुभयो । एन–प्याब्सन कोशी प्रदेश कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष अधिकारीले प्रशिक्षण कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता तथा विद्यार्थी–केन्द्रित सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी तथा आवासीय विद्यालयहरू समयसापेक्ष परिवर्तनसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रशिक्षणमा सहभागीहरूले प्रदेशस्तरीय यस कार्यक्रमले विद्यालय शिक्षामा ठोस र देखिने परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा इन्स्पायर एजुकेशन,सानोठिमी भक्तपुरका एजुकेसन साइकोलोजिस्ट इन्द्रप्रसाद प्रसाई प्रमुख प्रशिक्षक तथा पेडागोजी एक्सपर्ट अब्देश के.सी. सह–प्रशिक्षकको रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा कोशी इन्चार्ज कुमार बहादुर भट्टराई, केन्द्रीय सदस्य नारायण ढकाल, एन–प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, मोरङका अध्यक्ष इन्द्रनारायण साह लगायत ५० विद्यालयका १ सय भन्दा बढी संस्थापक, प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा विद्यालय इन्चार्जहरूको सहभागिता रहेको थियो ।