भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा माघ ४ गतेदेखि महिने राडी–पाखी बुनाइ तालिम सुरु भएको छ।
टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ मा सञ्चालन भएको तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष रमा देवी राईले गर्नुभएको हो। कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण प्रसाद राईको सभाअध्यक्षता रहेको थियो। तालिममा पाँच जना स्थानीय महिलाको सहभागिता रहेको छ।
तालिमबाट उत्पादन हुने राडी–पाखीलाई पर्यटनसँग जोडेर सहभागीहरूलाई रोजगारीको अवसर सिर्जना गरिने प्रमुख अतिथि उपाध्यक्ष रमा देवी राईले बताउनुभयो। उहाँका अनुसार सीपमूलक तालिमले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आत्मनिर्भरता बढाउन सहयोग गर्नेछ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले तालिममा उत्पादन भएका राडी–पाखीलाई ‘मुन्दुम ट्रेल’ पर्यटन मार्गसँग आबद्ध गरी पर्यटक लक्षित उत्पादनका रूपमा विकास गरिने जानकारी दिनुभयो। यसले स्थानीय संस्कृति संरक्षणसँगै आर्थिक आयआर्जनमा टेवा पुग्ने उहाँको भनाइ थियो।
फागुन ४ गतेसम्म सञ्चालन हुने तालिम कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णप्रसाद राई, वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराज राई, वडा नम्बर ९ का वडा अध्यक्ष नभराज माङपाहाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा इन्जिनियर रामकुमार तामाङ, कार्यपालिका सदस्य मकाना देवी चर्मकार लगायत गाउँपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो


