इटहरी । पाँचथरमा क्रियाशील राजनीतिक दलका प्रमुखले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गर्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतले आह्वान गर्नुभएको सर्वपक्षीय बैठकमा सहभागी दलका नेताले पाँचथरका दलबिच पूर्ववत् रूपमा रहेको मित्रवत् सम्बन्धलाई कायम राख्दै निर्वाचन कानुन उल्लङ्घन हुन नदिने प्रतिबद्धता जनाएका हुन् । बैठकमा नेपाली कांग्रेसका जिल्ला सचिव दीपक नेपाल, नेकपा ९एमाले० का अध्यक्ष विमल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रकाश गुरुङसहित जनता समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय परिवर्तन पार्टी, श्रम संस्कृति पार्टी र मङ्गोल नेसनल अर्गनाइजेसनका प्रमुख प्रतिनिधि सहभागी थिए । भेलामा मुख्य निर्वाचन अधिकृत कुमार मास्केले निर्वाचनमा उम्मेदवार, दल र आमनागरिकले पालना गर्नुुपर्ने आचारसंहिताका विषयमा जानकारी गराउनु भएको थियो । सोही क्रममा सहभागी दलका नेता कार्यकर्ताले जिल्लामा मित्रवत् रूपमा चुनावमा भाग लिने, मनोनयन दर्तादेखि प्रचारप्रसार र निर्वाचनताका समेत अस्वस्थ प्रतिस्पर्धा नगर्ने प्रतिबद्धता जनाएका हुन् ।


