संखुवासभा | सङ्खुवासभाको मादी नगरपालिका–३ मा ४७ औँ आमन्त्रित हाङथुम कप फुटबलको आयोजनामा सुरू भएको प्रतियोगितामा कोशी प्रदेश प्रहरी क्लबले विजयी सुरुवात गरेको छ ।
सोमबारबाट उद्घाटन खेलमा कोशी प्रदेश प्रहरीले इन्द्रेणी युवा क्लब फुङलिङ, सङ्खुवासभालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा इन्द्रेणीका सिसन जिमीले गरेको पहिलो प्रहार प्रहरीका गोलरक्षक सुरज शाक्यले उत्कृष्ट बचाउ गर्दै रोकेका थिए ।
प्रहरीका तर्फबाट रमेश राजवंशी, सौजन राई, समिर चोम्बाङ र विकास खवासले सफलतापूर्वक गोल गरे भने सनम अधिकारीको प्रहार इन्द्रेणीका गोलरक्षक महेश लिङ्खाले बचाए ।
इन्द्रेणीका विवेक गजमेर, देवराज गुरुङ र अशोक याख्खाले गोल गरे पनि अभिषेक याख्खाको प्रहार पोलभन्दा बाहिर गएको थियो । सिसन जिमी र अभिषेक याख्खाका प्रहार सफल हुन नसक्दा इन्द्रेणीले हार व्यहोर्नुपर्यो । खेलमा निर्णायक भूमिका खेलेका प्रहरीका गोलरक्षक सुरज शाक्य ‘म्यान अफ द म्याच’ घोषित भए ।
आयोजक क्लबका अध्यक्ष असिम जीमीका अनुसार ग्रामीण क्षेत्रमा फुटबलको विकास गर्दै स्थानीय खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यका साथ वि.सं. २०३४ सालदेखि निरन्तर रूपमा हाङथुम कप आयोजना हुँदै आएको छ ।
संखुवासभाकै ऐतिहासिक खेलकुद प्रतियोगिता भएकाले यसको संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिइने मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेपले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ४२ हजार रुपैयाँ र उपविजेता टोलीले १ लाख २१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतको दुधे फुटबल क्लब दार्जिलिङ, कोशी प्रदेश प्रहरी विराटनगर, लिखुभुजी युवा क्लब रामेछाप सहित ८ टोली सहभागी छन् । मंगलबार इन्द्रेणी क्लब बराहक्षेत्र, सुनसरी र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुनेछ ।


