इटहरी। मोरङको कानेपोखरी–२ स्थित केरौन पश्चिममा पाँच वर्षअघि निर्माण सुरु भएको नेपाल विद्युत् प्राधिकरणको केरौन १३२र३३ केभी सबस्टेसन चार्ज गर्न सुरु गरिएको छ । शनिबार सुरु गरिएको ट्रान्सफर्म चार्ज गर्ने काम २४ घण्टापछि सकिने छ । २०७८ साउन २७ गते १३२र३३ केभी सबस्टेसन निर्माण गर्न इनर्जी पिक इन्जिनियरिङ–एसआर एसोसिएटस इन्फ्रास्ट्रक्चर जेभलाई ठेक्का दिएको थियो । 

निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८० कात्तिक २५ गते आयोजना सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो तर सात पटक म्याद थपेपछि तोकिएको मितिभन्दा तीन वर्ष ढिलो गरी आयोजना सम्पन्न भएको हो । सबस्टेसनका आयोजना प्रमुख दर्शनराय यादवका अनुसार एसियाली विकास बैङ्क ९एडिबी० को ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भएको हो । सुरुको लागत ८० करोड रहेको थियो । डलरमा कारोबार हुने भएकाले लागत मूल्य बढेको उहाँको भनाइ छ । 

आयोजना प्रमुख यादवका अनुसार हाल विद्युत् वितरण गरिरहेका केन्द्रले २२० भोल्टेज दिनुपर्नेमा १७० सम्म दिइरहेकामा त्यति नै थप विद्युत् प्रसारण गर्न यो सबस्टेसन स्थापना गरिएको हो । यो स्टेसन सुचारु भएपछि रङ्गेली, विराटचोक र लेटाङका सबैखाले ग्राहक ३२ वर्ष पुरानो समस्याबाट मुक्त हुने छन् ।रङ्गेलीले हाल सुनबर्सी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, पथरी शनिश्चरेका केही क्षेत्रका ग्राहकलाई विद्युत् वितरण गरिरहेको छ । यस्तै बेलबारी, लेटाङ र विराटचोक क्षेत्रका ग्राहक पनि लो भोल्टेजको समस्याबाट मुक्त हुने छन् । 

सबस्टेसनका सहायक प्रबन्धक राजेशप्रताप साहले चार्जिङपछि परीक्षण प्रसारण र फल्ट चेक हुने बताउनुभयो । त्यसपछि रानीबाट दुहबी हुँदै रङ्गेली आउने बिजुली सिधै केरौनबाट प्रसारण हुने छ ।  रानी–दुहबीबाट दमकतर्फ जाने बिजुली पनि केरौन सबस्टेसनबाट जाने छ । लामो दुरी हुँदा हुने क्षति अब कम हुने साहले जानकारी दिनुभयो । हाल लेटाङ, रङ्गेली, बेलबारी र विराटचोकको अधिकतम माग ५० मेगावाट हो । सबस्टेसन चालु भएपछि १४८।५ मेगावाट बिजुली प्रसारण हुने ठुला उद्योग खोल्न पनि विद्युत् पर्याप्त हुने आयोजना प्रमुख यादवले भन्नुभयो ।  नेपाल विद्युत प्राधिकरणका ग्रिड सञ्चालन विभागका प्रमुख विक्रम अमात्यले शनिबारदेखि चार्ज सुरु गरी आइतबार सम्पन्न हुने जानरी दिनुभयो । अमात्यले केही दिनको परीक्षण प्रसारणपछि मात्र ३३ केभी फिडरहरूमा विद्युत् पठाउने बताउनुभयो । उहाँका अनुसार लो भोल्टेजको समस्या अन्त्य हुने र बत्ती झिपिक झिपिक गइरहने समस्या अन्त्य हुने छ ।