इटहरी। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । अध्यक्ष ओलीले मंगलवार दिउसो निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं। ५ मा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँ यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–५ बाट निर्वाचित हुनुभएको थियो । ओली पटक पटक यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको छ । मनोनयन पछि ओलीले यो निर्वाचन देश बनाउने र भत्काउने बीचको प्रतिस्पर्धा भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भयरहित अवस्थामा निर्वाचन हुन्छ भन्नेमा अझै पनि शंका रहेको बताउदै एमाले निर्वाचनबाट नभाग्ने उल्लेख गर्दै शान्ति सुरक्षाको अवस्था चित्त बुझ्दो नभएपनि निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो ।