इटहरी । कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता भएको छ ।
२०७६ साउन १ गतेयता कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण ९पेन्सन० व्यवस्थापन गर्न आज दुई पक्षबीच सहमति भएको हो । सम्झौतामा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र सञ्चय कोषका तर्फबाट प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, सम्बन्धित कर्मचारीको मासिक आधारभूत तलबबाट ६ प्रतिशत रकम कट्टी गरी निवृत्तिभरण कोषमा जम्मा गरिनेछ । कर्मचारीको खातामा जति रकम कट्टी हुन्छ, त्यसमा प्रदेश सरकारले शतप्रतिशत अर्थात् थप ६ प्रतिशत रकम थपिदिने प्रावधान राखिएको छ । यसरी जम्मा भएको कुल १२ प्रतिशत रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुनेछ ।
सम्झौता कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले यो सम्झौताले कर्मचारीहरूमा नयाँ उत्साह र ऊर्जा भर्ने विश्वास व्यक्त गरे । मन्त्री लिङ्थेपले कर्मचारी सञ्चय कोष एक भरपर्दो र विश्वासिलो संस्था भएको उल्लेख गर्दै अब कर्मचारीहरू ढुक्क भएर काममा लाग्न सक्ने वातावरण बनेको बताए ।


