इटहरी । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । यो समुदायको संसद्मा आधिकारिक प्रतिनिधित्वका रूपमा सुनीलबाबु पन्त संविधान सभा सदस्य बन्नुभएको थियो ।
त्यसपछि प्रतिनिधित्व सुनिश्चित नभएको भन्दै पार्टी नै दर्ता गरेर उम्मेदवारी दिइएको हो । पार्टी अध्यक्ष तथा मोरङ क्षेत्र नं। ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी नुमा लिम्बूका अनुसार काभ्रेपलाञ्चोक क्षेत्र नं। १ मा विनोद लामा, ओखलढुङ्गा क्षेत्र नं। १ पिङ्की राई, रुपन्देही क्षेत्र नं। २ मा देवेन्द्रबहादुर खत्री, काठमाडौँ क्षेत्र नं। १० पूर्णचन्द्र पौडेल, काठमाडौँ क्षेत्र नं। १ मा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिनुभएको हो । समावेशी समाजवादी पार्टीको चुनाव चिह्न श्रीवत्स रहेको संविधान सभा सदस्य सुनीलबाबु पन्तले जानकारी दिनुभयो । यो पार्टीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय जीवनको सङ्घर्ष, समाजको बहिष्करण र पहिचान अभावमा अहिले पनि लडिरहेकाले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलले समेत सहयोग गर्नुपर्ने माग गरेको हो ।
प्रमुख राजनीतिक दलले आफ्नो समुदायलाई बेवास्ता गर्न नमिल्ने जिकिर पनि उहाँले गर्नुभयो । तेस्रो लिङ्गी महिला लिम्बूले आफ्नो पार्टीले निर्वाचन आयोगले तोकेको आचारसंहिताविपरीत कुनै पनि कार्य नगर्ने बताउँदै लोकतन्त्रमा अधिकार प्रयोग गर्न उम्मेदवारी दिएको बताउनुभयो । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार देशभर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या तीन हजार हाराहारी मात्रै रहेको देखाइएको पन्तले जानकारी दिनुभयो । देशभरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या गणना गर्दा छुट्न गएको उहाँको भनाइ छ । पन्तले आफ्नो समुदायले मातृसत्ताको कल्पना गर्ने भएकाले झन्डा त्रिकोणात्मक रहेको बताउनुभयो । उहाँले संविधान सभा सदस्यका रूपमा आफूले प्रतिनिधित्व गर्दा मात्रै पनि यो समुदायको अधिकार सुनिश्चित गर्न सकिएकाले अब संसद्मा प्रतिनिधित्वमार्फत कानुनमा सुधार पहल लिने बताउनुभयो ।

