इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर आइपुग्नु भएको छ । उहाँले सदरमुकाम फिदिममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेट गर्नुभएको छ।

फागुन २१ गतेको चुनावमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीका रूपमा अगाडि सारिनुभएका बालेनले फिदिममा नेता तथा कार्यकर्तासँग भेट गर्दै चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो । करिब एक घण्टा सदरमुकाम फिदिममा रहँदा उहाँले विभिन्न उमेर समूहका समर्थकसँग भेट गर्नुभयो । उहाँले रास्वपाबाट पाँचथरमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महेन्द्रविक्रम थाम्सुहाङ र जिल्ला सभापति प्रकाश गुरुङलगायत जिल्लाका नेता कार्यकर्तासँग भेट गर्नुभयो।

इलामको नेता कार्यकर्तासँग भेट गरेर उहाँ पाँचथर आइपुग्नु भएको हो। फिदिममा कार्यकर्तासँग भेट गरेर बालेन ताप्लेजुङ सदरमुकाम फुङलिङतर्फ लाग्नुभएको छ । उहाँले ताप्लेजुङमा पाथिभराको दर्शन गर्ने कार्यक्रम रहेको छ । पाथिभरा दर्शन गरेर उहाँ झापा फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।