इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशन बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। २०८२ माघ ७ गते सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै युनियनलाई थप सशक्त बनाउने संकल्प गरेको छ।

अधिवेशन प्रमुख अतिथि सुजना जोशीको आतिथ्यमा तथा तत्कालीन अध्यक्ष पूजा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन इटहरी उपमहानगर कमिटीकी सचिव निशा पौडेलले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष पूजा भट्टराईले आफ्नो कार्यकालमा साथ, सहयोग र समर्पण गर्ने सम्पूर्ण सदस्यहरूलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो। उहाँले सौन्दर्यकर्मीहरूको हक, अधिकार र पेशागत मर्यादाका लागि युनियनले खेलेको भूमिकाको स्मरण गर्दै आगामी नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले राष्ट्रिय सौन्दर्यकर्मी युनियन व्यवसायिक मात्र नभई सामाजिक उत्तरदायित्वमा समेत सक्रिय रहेको उल्लेख गर्नुभयो।

उहाँले महिला सशक्तीकरण, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा युनियनको योगदान प्रशंसनीय रहेको बताउनुभयो। अधिवेशनमा केन्द्रीय प्रतिनिधि परिषद् उपप्रमुख गंगा तामाङ, केन्द्रीय महासचिव ममता प्रधान, प्रदेश अध्यक्ष कलाडाँगी, प्रदेश सचिव अमिता पौडेल, इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा, सामाजिक अभियन्ता प्रतिक्षा प्राप्ति अधिकारी, इटहरी लेडिजकी अध्यक्ष यमुना बुढाथोकी, निवर्तमान अध्यक्ष लक्ष्मी बराल, योग प्रशिक्षक सूर्य गिरीलगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-01-22 at 4.35.18 PM

कार्यक्रममा सञ्चार माध्यममार्फत समाजमा सकारात्मक योगदान पुर्‍याएको भन्दै सञ्चार उद्यमी विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल र प्रदेश खबर अनलाइनका सञ्चालक पवन अधिकारीलाई सम्मान गरिएको थियो। अधिवेशनबाट निशा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। नवनिर्वाचित अध्यक्ष निशा पौडेलले आफ्नो भनाइ राख्दै भन्नुभयो—“सौन्दर्यकर्मीहरूलाई सम्मानित, सुरक्षित र संगठित बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो। पेशागत हकहित, सीप विकास, रोजगार सुरक्षा र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै युनियनलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।

सबै सदस्यहरूको साथ र सहयोगले मात्र यो सम्भव हुनेछ।”नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्ष चन्दा थापा, सचिव बिनिता राई, सह–सचिव जिना श्रेष्ठ र कोषाध्यक्ष एलिना डागी चयन हुनुभएको छ। सदस्यहरूमा मिना थापा, कल्पना पोखरेल, रोजिना कार्की, संगीता श्रेष्ठ, प्रतिमा पौडेल र सम्झना थापा रहनुभएको छ। नयाँ कार्यसमितिले सौन्दर्यकर्मीहरूको पेशागत अधिकार सुनिश्चित गर्नुका साथै सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।