इटहरी। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ। झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको हो । एमालेको सम्पूर्ण पार्टीपङ्क्ति जनताको घर–घरमा पुग्नु र मतदातालाई एमालेलाई मत दिनलाई विश्वस्त तुल्याउन उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएको विकास निर्माणको काम नै निर्वाचन जित्न पर्याप्त भएको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरु सहभागी सो बैठकमा योजना बनाएर प्रचारको काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न निर्देशन दिनुभएको छ । उहाँले दृढताका साथ निर्वाचन प्रचारमा लाग्न सबैलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्देश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी गर्नुभएको छ । नवयुवाहरुले सुरु गरेको आन्दोलन र उठाएका मागहरु नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उहाँको भनाइ छ ।

