इटहरी।  डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो । वन कार्यालयका अनुसार खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनापछि कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । अनुगमनका क्रममा कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी, अनुमतिबिना खयरको रुख काटी काठ सङ्कलन गरिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँले जानकारी दिनुभयो । बरामद गरिएको काठ करिब ५०० क्युफिट रहेको जनाउँदै उहाँले यसको अनुमानित मूल्य करिब रु पाँच लाख बराबर रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुर्गम तथा भौगोलिक रूपमा अप्ठ्यारो स्थानबाट फेला परेकाले घटनास्थलमा प्रारम्भिक मुचुल्का तयार गरी काठ सुरक्षित तरिकाले वन कार्यालय ल्याउने काम भइरहेको छ । डिभिजन वन कार्यालयका अनुसार हाल काठका वास्तविक धनी तथा अवैध कटानमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । अनुसन्धान सम्पन्न भएपछि संलग्नलाई प्रचलित वन ऐन तथा नियमावलीअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।