इटहरी ।  संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको सुमो जिप चैनपुर नगरपालिका– २ नुनढाकीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर नगरपालिका– १ का ५९ वर्षीय बिरबहादुर लिम्बु र सोही वडाको पैरे घर भएका करिब १७ वर्षीय अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

मृतक दुबैको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुर पठाइएको छ । दुर्घटनामा परी चैनपुर नगरपालिका– १ सिङरिङका ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा तथा पाँचथरको फिदिम नगरपालिका–४ माझिटारका २८ वर्षीय दिपेश माझी गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।