इटहरी । नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो रामधुनी–४ मानपुरको आयोजनामा एक दिवसीय चौथो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
प्रतियोगिता कार्यक्रम संयोजक तथा कराते प्रशिक्षक हरिबहादुर राउतको अध्यक्षतामा तथा रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक हरिबहादुर राउतले स्थानीय स्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै खेलाडीहरूको उत्साहले आगामी दिनमा अझ ठूला प्रतियोगिता आयोजना गर्ने प्रेरणा मिलेको भनाइ राख्नुभयो ।
प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि नगरप्रमुख शंकरलाल चौधरीले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक सोच भएको नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग निरन्तर गर्ने भनाइ राख्नुभयो। त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि नगर उपप्रमुख तारा थापाले कराते जस्ता मार्शल आर्ट खेलले आत्मअनुशासन, आत्मविश्वास र आत्मरक्षाको भावना विकास गर्ने उल्लेख गर्दै स्थानीय तहबाट खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढाइने भनाइ व्यक्त गर्नुभयो।
प्रतियोगितामा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका तथा आयोजक टिमका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाको नतिजाअनुसार बराहक्षेत्र नगरपालिका प्रथम, इटहरी उपमहानगरपालिका दोस्रो र धरान उपमहानगरपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। विजेता तथा सहभागी खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्रहरू नगरप्रमुख, उपप्रमुख तथा वडा अध्यक्षबाट वितरण गरिएको थियो। प्रतियोगितामा वडा अध्यक्ष कमल कार्की, नेपाल कराते महासङ्घ कोशी प्रदेश अध्यक्ष कुवेरमान राई, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघ–संस्थाका अध्यक्षहरू, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

