इटहरी। चुनावी प्रचार कार्यक्रममा बालबालिकाको प्रयोग गरेको भन्दै श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ विरुद्ध उजुरी परेको छ ।
सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका साम्पाङ विरुद्ध निर्वाचनमा बालबालिका प्रयोग गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो । साम्पाङ सो पार्टीका केन्द्रीय अध्यक्ष समेत हुन् । धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ ।
उम्मेदवार साम्पाङले निर्वाचन आचारसंहिता र बालबालिका सम्बन्धी कानुनको धज्जी उडाएको सञ्जालको ठहर छ । सञ्जालले दर्ता गरेको उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० को उल्लंघन भएको उल्लेख गरिएको छ । उक्त कानुनी व्यवस्था अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पाइँदैन । तर, साम्पाङले आफ्नो चुनावी र्याली र प्रचारमा बालबालिका सहभागी गराएको दाबी उजुरीमा गरिएको छ ।
सञ्जालले साम्पाङलाई तत्काल निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराएर छलफल गर्न र आचारसंहिता उल्लंघन गरेको ठहर भए कारबाही गर्न माग गरेको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेले उजुरीको विषयमा अध्ययन भइरहेको बताए । उजुरी परेसँगै साम्पाङ आफ्नो कार्यक्रममा बालबालीका नल्याउन भनेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै घरदैलोमा सघाउन आउँदा कोही पनि अभिभावकले बालबालिका लिएर नआउन आग्रह गरेका छन् ।

