काठमाडौँ । सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा मंगलबार प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थान सिफलमा स्मृति सभा गरिएको हो ।
सहिद धर्मभक्तको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले, विगतको शासनमा नागरिकले भोग्नु परेका क्रुरता, असमानता तथा कुष्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको संघर्ष र बलिदानी म्सरण गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । धर्मभक्तले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले धर्मभक्तको बलिदानीका कारण मनमा लागेका कुरा यहाँ उभिएर बोल्न पाइरहेको धारणा राख्नुभयो ।

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर धर्मभक्तलाई मृत्युदण्ड दिइएको थियो । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

