इटहरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । 

स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा देखिएको समस्याले अवरोध सृजना भएपछि जिल्ला प्रशासन कार्यालय झापाले समाधानका लागि तत्परता देखाएको हो । सडक निर्माणमा देखिएका समस्या पहिचान गरी समाधानको बाटो खोज्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो । 

निर्माण कम्पनी इभ्रास्कन–कालिका जेभीका क्षेत्रीय महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार स्थानीयको माग र निर्माण सामग्री उपलब्धतामा देखिएको समस्याले सडक निर्माण प्रभावित भइरहेको छ । सुरुआती डिजाइनमा परिवर्तन गरी सडकलाई व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले माग गरेपछि कतिपय स्थानमा काम रोकिएको उहाँले बताउनुभयो । आयोजनाका इन्जिनियर आश्रय महतका अनुसार काँकरभिट्टामा डिजाइनमै नभएको ओभरपास निर्माण गर्नुपर्ने, धुलाबारीमा बस स्ट्यान्ड व्यवस्थापन, चारआलीको ओभरपास क्षेत्रमा अवरोध तथा विद्यालय क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्ने मागले काममा समस्या भएको छ ।

आयोजना निर्माणका क्रममा स्थानीय मागसँगै विद्युत् पोल स्थानान्तरण र निर्माण सामग्रीको स्रोत तथा आपूर्तिमा समस्या देखिएको छ । सडक विस्तारका लागि सहरी क्षेत्रमा रहेका विद्युत् पोल समयमै स्थानान्तरण हुनसकेका छैनन् । त्यस्तै, कालोपत्रका लागि आवश्यक अस्फाल्ट चिप्स र प्रबलित माटोको पर्खाल ९आरई वाल० निर्माणमा प्रयोग हुने ब्याकफिलिङ सामग्रीको स्रोत तथा नियमित आपूर्तिमा कठिनाइ रहेको आयोजना कार्यालयले जनाएको छ । यिनै समस्या समाधानका लागि निर्माण कम्पनी तथा आयोजनाका प्रतिनिधिले गत साताको मङ्गलबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी पोखरेललाई जानकारी गराएका थिए । समस्याका बारेमा स्थलगत जानकारी लिन प्रशासनले आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकको निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले आवश्यक सामग्रीको अभाव हुन नदिन र स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग विभिन्न चरणमा छलफल गरिएको बताउनुभयो । उहाँले झापाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो । सडक निर्माणका क्रममा हटाउनुपर्ने विद्युत्का पोल व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगरसँग समन्वय गरिएको उहाँले बताउनुभयो । 

एसियाली विकास बैंकको वित्तीय सहयोगमा झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । यसमध्ये काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वीखण्ड निर्माणको ठेक्का इभ्रास्कन–कालिका जेभीले पाएको हो । उक्त खण्ड निर्माणका लागि १० अर्ब छ करोड ९४ लाख ८२ हजार ७१२ रुपियाँमा ठेक्का सम्झौता भएको हो । विसं २०८० माघ १९ गतेदेखि निर्माण सुरु भएको आयोजनामा एसियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी छ । आयोजनाका इन्जिनियर महतका अनुसार निर्माण सम्झौता सकिन करिब तीन महिना बाँकी रहँदा पूर्वी खण्डमा हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ । सम्झौता अवधिभित्र प्रगति ७० प्रतिशत पुर्याउने र चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले सडक निर्माणलाई तीव्रता दिनुका साथै सुरक्षित आवागमन, व्यवस्थित डाइभर्सन, पर्याप्त साङ्केतिक चिह्न र प्रभावकारी ट्राफिक व्यवस्थापन सुनिश्चित गर्न निर्माण कम्पनी तथा आयोजनाका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।