इटहरी । गएको असोज १८ गतेको बाढी पहिरोले चियाबारी र घर क्षति भएका साना चिया किासानलाई केन्द्रीय चिया सहकारी संघ इलामले राहत वितरण गरेको छ । संघले आफ्नो आन्तरिक श्रोतबाट सहकारीमा आवद्ध साना चिया किसानलाई प्रतिपरिवार नगद दश हजारका दरले राहत उपलब्ध गराएको संघका महासचिव रविन राईले बताउनुभयो ।
राईका अनुसार हिलटप चिया सहकारी सस्था देउमाइ –३ का नरबहादुर तामाङ, देउराली चिया सहकारी सस्थाका देउमाई –८ का नरबहादुर मगर, अजम्बरे चिया सहकारी संस्था देउमाई –८ का निर्मला खनाल भण्डारी, रत्नचोक चिया सहकारी संस्था सूर्योदय –१० का सोमबहादुर लिम्बु, सुन्दरपानी चिया सहकारी संस्था सूर्योदय –९ का प्रेम लामा, आमा चिया सहकारी संस्था सूर्योदय –४ का राजकुमारी लिम्बुलाई रहत उपलब्ध गराइएको हो ।
असोज १८ गते गएको पहिरोका कारण इलाममा विभिन्न सहकारीमा आवद्ध ९७ किसानको चिया बगान बगाएको केन्द्रीय चिया सहकारी संघले जनाएको छ । यसबाट चार करोड ७२ लाख ९० हजार बढीको क्षति भएको विवरण संकलन गरिएको संघका महासचिव राईले जानकारी दिनुभयो । इलाममा असोज १८ को बाढी पहिरोले करिब २५० रोपनी चियाबारी बगाएको छ भने कतिपय किसानको बगान नै नस्ट भएको अवस्था रहेको संघले जनाएको छ ।

