इटहरी ।  भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् ।

गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस प्रणालीमा जुट्न थालेका हुन् । गाउँपालिकाले बहुवर्षीय खेतीलाई प्रोत्साहन गर्न ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमअन्तर्गत किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै बहुवर्षीय खेती प्रविधिमा जोड दिइँदै आएको छ । गाउँपालिका अध्यक्ष किरण राईले एकपटक बगैँचा विस्तार गरेपछि सामान्य हेरचाहका माध्यमबाट वर्षौंसम्म निरन्तर आम्दानी लिन सकिने भएकाले बहुवर्षीय खेती प्रणाली प्रभावकारी बन्दै गएको बताउनुभयो । किसानको आवश्यकता र मागका आधारमा विभिन्न प्रकारका बहुवर्षीय खेतीका लागि सहयोग उपलब्ध गराइँदै आएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बहुवर्षीय खेती प्रणालीको विकासका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । यस वर्ष आवेदन आह्वान गरेर ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम सञ्चालनको तयारी भइरहेको र गाउँपालिकाले छवटै वडामा कार्यक्रम कार्यान्वयन गर्न करिब रु ४० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । बहुवर्षीय बालीका रूपमा किसानलाई आँप, लिची, किबी, एभोकाडो, सुन्तलालगायतका खेतीमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । फलफूल खेतीको माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा कृषिका कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ । स्थानीय किसान नवराज घिमिरेले गाउँपालिकाको यस पहलले किसानको आम्दानी वृद्धि गर्नाका साथै व्यावसायिक र दिगो कृषि प्रणाली विकासमा टेवा पुग्ने बताउनुभयो । बहुवर्षीय बाली खेतीमा किसानको आषर्कण रहेको र गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमले किसानलाई प्रोत्साहन गरिरहको उहाँको भनाइ छ ।