इटहरी । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ । यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका खेलाडी मात्र होइन, पोखरा, काठमाडौँ र साथै यहाँ देश तथा विदेशी खेलाडीसमेत आउन थालेका छन् । यसले धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल यहाँ इङल्यान्ड, इटाली, फ्रान्स, अस्ट्रेलिया, सिङ्गापुर र युकेबाट पर्यटकहरू गल्फ खेल्न धरान आउने गरेका छन् ।
सुनसरी गल्फ सङ्घका अध्यक्ष तथा सिङ्गल ह्यान्डिक्याप खेलाडी जितेन्द्र राईले विगतमा गल्फबारे जानकारीको अभावका कारण खेलाडीको सङ्ख्या कम रहे पनि पछिल्लो समय आकर्षण बढ्दै गएको बताउनुभयो । अध्यक्ष राईका अनुसार धरान गल्फ कोर्स नेपालमै उत्कृष्ट खेलाडी उत्पादन गर्ने अग्रणी संस्था बन्दै गएको छ । धरानमा ब्रिटिस क्याम्प स्थापना भएपछि सन् १९६२ मा क्याम्प परिसरमै १८ होलको गल्फ कोर्स निर्माण गरिएको थियो । धरान ‘लाहुरेको सहर’ भनेर पनि चिनिन्छ । ब्रिटिस संस्था ‘नोफिल गिफ्ट’ ले स्थापना गरेको यो गल्फ कोर्स सन् १९६२ मा ब्रिटिस लाहुरेलाई हस्तान्तरण गरिएको गल्फ क्लबका सदस्य राजु राईले बताउनुभयो । नेपालमा गल्फ कोर्स सीमित छन् । पूर्वी नेपालमा धरानमै मात्र रहेको यो गल्फ कोर्सलाई ‘पूर्वको गहना’ का रूपमा लिइन्छ ।
यहाँ न्यूनतम शुल्कमा गल्फ खेलाइँदै आएको बताउँदै राईले गल्फको विकासका लागि सरकारले ध्यान आवश्यक रहेको बताउनुभयो । गल्फ खेल शान्त रूपमा खेलिने भएकाले यसलाई ‘माइन्ड गेम’ समेत भनिन्छ । खेलाडीका अनुसार यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । ढाड दुख्ने, जोर्नी तथा नसासम्बन्धी समस्या भएका व्यक्तिका लागि यो खेल लाभदायी मानिन्छ । गल्फ खेल्न उमेरको हदबन्दी नहुने भएकाले सबै उमेर समूहका लागि उपयोगी हुने खेलाडीको भनाइ छ । विसं २०७८ फागुनमा धरान गल्फ कोर्समा ड्राइभिङ रेन्ज र पार्किङस्थल निर्माणपछि व्यवस्थापनमा सहयोग पुगेको छ ।
धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको संरचनाले व्यवस्थापनमा ठूलो टेवा पुगेको सुनसरी गल्फ सङ्घका अध्यक्ष राईले बताउनुभयो । हाल धरान गल्फ कोर्समा महिनामा आधा दर्जनभन्दा बढी प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । यही माघ १६ र १७ गते कोशी प्रदेश गल्फ सङ्घ र चिभास रिगलबीचको सहकार्यमा ‘चिभास रिगल इस्टर्न गल्फ टुर्नामेन्ट’ आयोजना हुने भएको छ । सो प्रतियोगितामा देशभरका ९० भन्दा बढी ‘एमेच्योर गल्फर’को सहभागिता रहने जनाइएको छ ।

