इटहरी । इटहरी नगर बाल सञ्जालले निर्वाचनको प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग गरिएको भन्ने सार्वजनिक समाचार तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
२०८२ साल फाल्गुन २१ गते धरान नगरपालिकामा आयोजित चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग गरिएको विषय विभिन्न सञ्चार माध्यम र जनगुनासामार्फत सार्वजनिक भएपछि नगर बाल सञ्जालले प्रेस विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको हो। विज्ञप्तिमा बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउनु नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५ तथा अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरिएको छ। साथै निर्वाचन आयोगद्वारा जारी आचारसंहिताअनुसार चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोग पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ ।
नगर बाल सञ्जालले बाल अधिकारका पक्षमा आवाज उठाउने व्यक्तिहरूमाथि भएको धम्की, ट्रोलिङ, अपमानजनक टिप्पणी, चरित्र हत्या तथा आक्रमण प्रयासप्रति पनि गम्भीर आपत्ति जनाएको छ। यस्ता गतिविधिले बालबालिकामा डर, त्रास र असुरक्षाको भावना सिर्जना गर्दै बाल अधिकारमैत्री वातावरण कमजोर बनाइरहेको सञ्जालको ठहर छ । सञ्जालले निर्वाचन आयोग, सुरक्षा निकाय, स्थानीय तथा संघीय सरकार, मानव अधिकार संस्था, सञ्चार माध्यम र नागरिक समाजलाई बाल अधिकार संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। नगर बाल सञ्जालले बालबालिकाको निडर भई आवाज उठाउने अधिकार सुनिश्चित गर्न सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै बाल अधिकारको संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि सधैं प्रतिबद्ध रहने स्पष्ट पारेको छ।


