इटहरी ।  प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने निर्णय गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्थास्वरूप विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी समेत दिनुभयो। मासिक आठ लाख रुपैयाँ भाडा दिने गरी बैठक सञ्चालन गर्न लागिएको मन्त्री पराजुलीले जानकारी गराउनुभयो। 

मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित अन्य छ वटा महत्वपूर्ण निर्णयहरू समेत गरिएकोको छ । सरकारले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२ लाई स्वीकृत गरेको छ । त्यसैगरी, प्रदेशमा कानुनी सहायतासम्बन्धी व्यवस्था गर्नका लागि कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको छ । बैठकले विकास आयोजनातर्फ नेपाल र जापान सरकारबीचको आपसी सहमतिमा सञ्चालित कोशी पम्प चन्द्रनहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनलाई कर छुट दिने प्रस्ताव पारित गरेको छ ।